रे समाचार/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहान काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त घटनाको तत्काल निष्पक्ष छानबिन गरी सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
आज साँझ जारी विज्ञप्तिमा रास्वपाले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने वा सञ्चारमाध्यमलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताविपरीत रहेको जनाएको छ ।
बिहानै सञ्चारगृहअगाडि शंकास्पद सवारी
आइतबार बिहान काठमाडौंका केही प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि नम्बर प्लेट ढाकिएका वा चालकविहीन अवस्थामा छाडिएका केही सवारीसाधन पार्किङ गरिएको विषय सार्वजनिक भएपछि सुरक्षा निकाय परिचालित भएका थिए । घटनापछि ती सवारीसाधनको सुरक्षा परीक्षण गरिएको थियो भने सञ्चारमाध्यमहरूले पनि यसबारे समाचार प्रकाशित तथा प्रसारण गरेका थिए । घटनाको उद्देश्यबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन भने सुरक्षा निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।

यही घटनालाई लिएर रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारितामाथि कुनै पनि प्रकारको दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
पार्टीले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यमले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुरक्षित हुनुपर्ने उल्लेख गर्दै सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र प्रेसलाई संकुचित पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत रास्वपाले घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ। साथै, घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने माग पनि गरेको छ।
रास्वपाले पत्रकारहरूलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू सधैँ उभिने प्रतिबद्धता दोहोर्याएको छ ।
यस घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेकपा (एमाले) ले पनि विज्ञप्ति जारी गर्दै अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । एमालेले यस्ता गतिविधिले सञ्चारमाध्यममा भय र त्रासको वातावरण सिर्जना गर्ने तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । सञ्चारमाध्यम र पत्रकारको निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न तथा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
शंकास्पद रूपमा पार्क गरिएका ती सवारीसाधनलाई प्रहरीले क्रेनको सहायताले हटाएको थियो ।
