RayNewsDaily
नेपालको व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका लागि ल्हासामा विशेष कार्यक्रम सम्पन्न

रे समाचार/काठमाडौं । नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासास्थित सांग्रिला होटलमा नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे विशेष अन्तरक्रिया तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा चीनको तिब्बत स्वायत्त क्षेत्रीय जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा तिब्बत स्वायत्त क्षेत्रीय सरकारका उच्च अधिकारीहरू, परराष्ट्र, पर्यटन, यातायात, उद्योग, वाणिज्य, भन्सार, अध्यागमन, सीमा सुरक्षा लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ व्यवसायी, नेपालसँग व्यापारमा संलग्न उद्यमी, ल्हासामा रहेका नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा महावाणिज्यदूतावासका कर्मचारीसहित ११३ जनाको सहभागिता रहेको थियो ।

727220042_1440463141439294_8919645528860425199_n-1782465316.jpg
कार्यक्रमको सञ्चालन उपवाणिज्यदूत दीक्षा महतले गर्नुभएको थियो भने नेपालको व्यापार, पर्यटन तथा लगानी सम्भावनाबारे वाणिज्यदूत सविन भट्टराईले प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा यी तीनै क्षेत्रसँग सम्बन्धित छुट्टाछुट्टै प्रवद्र्धनात्मक भिडियोसमेत प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि चाओ पेङले नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै दुई देशबीचका विषयहरू संवाद र सहकार्यबाट समाधान हुँदै आएको बताउनुभयो । उहाँले नेपाललाई चीनको सच्चा मित्रराष्ट्रको संज्ञा दिँदै नेपाल भ्रमण, व्यवसाय तथा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आह्वान गर्नुभयो । साथै, नेपाल र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारको सहयोग गर्न तिब्बत स्वायत्त क्षेत्रीय सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । 

728138557_1529842192209669_6734477146766863434_n-1782465526.jpg
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा सबै सहभागीप्रति आभार व्यक्त गर्दै नेपालको व्यापार, पर्यटन र लगानीका अवसरबारे चिनियाँ सरकार तथा लगानीकर्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रम सहभागीको संख्या र गुणस्तरका दृष्टिले सफल भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल–चीन सम्बन्ध सातौँ शताब्दीमा राजकुमारी भृकुटी र बाह्रौँ शताब्दीमा अरनिकोले स्थापित गरेको ऐतिहासिक विश्वास, सहयोग र सद्भावमा आधारित रहेको स्मरण गराउँदै नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने नीति दोहो¥याउनुभयो । महावाणिज्यदूत निरौलाले  चीन सधैँ नेपालको विश्वासिलो मित्र र विकास साझेदारका रूपमा रहेको उल्लेख गर्दै चीन सरकार र चिनियाँ जनताबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । 

731343901_1912738132723682_2605025819472025681_n-1782465682.jpg
यसअघि कार्यक्रमस्थलमै कार्यकारी उपाध्यक्ष चाओ पेङ र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटका क्रममा महावाणिज्यदूत निरौलाले नेपाल-चीनबीच भएका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको उल्लेख गर्दै सीमा पूर्वाधार विकास, आयात-निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा रहेका नेपालीहरूको व्यवसाय र आवागमनमा सहजता, नेपाली नागरिकका लागि भिसा तथा तिब्बत प्रवेश अनुमतिमा थप सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले राजकुमारी भृकुटीका पालामा ल्हासामा स्थापना भएको सरस्वती मन्दिर तथा सन् ९५६ मा सिगात्सेमा निर्माण गरिएको नेपाली भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोगको अनुरोध गर्नुभयो ।

जवाफमा कार्यकारी उपाध्यक्ष चाओ पेङले नेपाल र तिब्बतबीच हिमालय र नदीहरूले जोडिएको सीमा जस्तै दुई पक्षबीचको सम्बन्ध पनि बलियो रहेको बताउनुभयो । उहाँले सीमा व्यवस्थापनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको, सरस्वती तथा भीमसेन मन्दिरको संरक्षण र जीर्णोद्धारका लागि पहल गरिने तथा रसुवागढी नाकास्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको उल्लेख गर्दै यस सम्बन्धमा नेपालको औपचारिक जवाफको प्रतीक्षा भइरहेको जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update