RayNewsDaily
एन्टि-रेबिज खोपको अभाव नरहेको स्वास्थ्य मन्त्रालयको दाबी    

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि-रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ ।     

उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको छ ।     
     
मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोधसमेत गरेको छ । मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टि-रेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात रहेको रहेको बताउनुभयो । स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update