काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका-११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको आज बिहान उहाँलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
उहाँलाई उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सञ्जीव विकको आज सकुशल उद्धार गरिएको छ ।
नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । रासस
