रे समाचार/काठमाण्डू । अन्तर्राष्ट्रिय प्रेस क्लबहरूको संस्था International Association of Press Clubs (IAPC) तथा Foreign Correspondents' Club of South Asia (FCC South Asia) ले अग्रज नेपाली पत्रकार Kishor Shrestha माथि भएको भनिएको निगरानी, धम्की, उत्पीडन तथा गोप्य स्रोत खुलाउन दबाब दिने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक सरोकारका विषयमा खोजमूलक पत्रकारिता गरेपछि पत्रकार श्रेष्ठलाई आफ्ना गोप्य समाचार स्रोतहरू खुलाउन दबाब दिइएको, निगरानी गरिएको तथा विभिन्न प्रकारका धम्की र त्रास सिर्जना गरिएको समाचारप्रति आफूहरू चिन्तित रहेको बताएका छन्।
विज्ञप्तिमा पत्रकारलाई आफ्ना गोप्य स्रोतको पहिचान खुलाउन बाध्य पार्ने कुनै पनि प्रयास प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ। स्रोतको गोपनीयता कायम राख्नु पत्रकारको आधारभूत दायित्व र स्रोतको सुरक्षासम्बन्धी अधिकार भएको भन्दै यस अधिकारमाथि हस्तक्षेप गर्दा लोकतान्त्रिक संस्थाहरूप्रतिको जनविश्वास कमजोर हुने र सूचनाको स्वतन्त्र प्रवाहमा असर पर्ने चेतावनी दिइएको छ।
IAPC र FCC South Asia ले पत्रकारमाथि गरिने कुनै पनि प्रकारको धम्की, दबाब, निगरानी वा प्रतिशोधात्मक कार्यको निन्दा गर्दै पत्रकारहरूले डर, त्रास वा हस्तक्षेपविना स्वतन्त्र रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने बताएका छन्।
संस्थाहरूले पत्रकार श्रेष्ठमाथि भइरहेको भनिएको सबै प्रकारका दबाब र उत्पीडन तत्काल अन्त्य गर्न तथा सम्बन्धित निकायहरूलाई उनको सुरक्षा सुनिश्चित गरी पत्रकारको हैसियतमा प्राप्त अधिकारहरूको संरक्षण गर्न आग्रह गरेका छन्।
त्यसैगरी नेपाल तथा दक्षिण एशियाभरका सञ्चार संस्था, प्रेस स्वतन्त्रताका पक्षधर, मानवअधिकार संस्था र सार्वजनिक निकायहरूलाई पत्रकार श्रेष्ठको पक्षमा ऐक्यबद्धता जनाउन र स्वतन्त्र पत्रकारिताको मूल्य तथा मान्यताको रक्षा गर्न आह्वान गरिएको छ।
विज्ञप्तिको अन्त्यमा IAPC र FCC South Asia ले पत्रकारहरूको संरक्षण, सञ्चारमाध्यमको स्वतन्त्रताको रक्षा तथा प्रेसमाथि हुने हस्तक्षेपविरुद्ध आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। संस्थाहरूले स्वतन्त्र र निष्पक्ष प्रेस लोकतन्त्र, जवाफदेहिता तथा मानवअधिकारको संरक्षणका लागि अपरिहार्य रहेको बताएका छन्।
उक्त संयुक्त विज्ञप्तिमा FCC South Asia तथा IAPC का अध्यक्ष Dr Waiel Awwad को हस्ताक्षर रहेको छ।

