काठमाडौँ । विश्वप्रसिद्ध चलचित्र महोत्सव ‘कान्स चलचित्र महोत्सव २०२६’ मा सहभागी भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का कलाकार तथा निर्माण समूहलाई नेपालमा स्वागत गरिएको छ ।
उक्त चलचित्र महोत्सवमा ‘अन सर्टेन रिगार्ड विधा’ मा छनोट भएर पहिलो प्रदर्शनी (विश्व प्रिमियर) भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले सोही विधामा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको छ ।
फ्रान्समा सम्पन्न उक्त चलचित्र महोत्सवमा सहभागी भएर नेपाल फर्किनुभएका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बधाई दिँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो ।
प्राप्त अन्तरराष्ट्रिय सम्मानले नेपाली चलचित्रको कथ्य, शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कलाकर्मीले विश्व प्रख्यात चलचित्र महोत्सवमा सहभागी जनाउँदै अन्तरराष्ट्रिय उपलब्धिसहित नेपाल फर्किनु हाम्रो लागि सुखद पक्ष हो । हाम्रो कला, संस्कृतिसँगै प्राकृतिकस्थलको प्रचारका लागि पनि चलचित्र निकै महत्वपूर्ण छ । त्यसैले हामीले यस क्षेत्रको हितमा हुने कामहरूलाई अगाडि बढाई रहेका छौँ । हामीले कला र संस्कृतिका क्षेत्रमा सक्दो काम गर्ने योजना बनाएका छौँ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल नेपाली चलचित्र र नेपाली संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चमा गौरव गर्ने अवसर प्रदान गरेको बताउँदै चलचित्रकर्मीलाई बधाई दिनुभयो ।
उहाँले भन्नुभयो, “चलचित्रकर्मीहरू मुलुकका अवैतनिक सांस्कृतिकदूत हुनुहुन्छ । चलचित्रले अन्तरराष्ट्रिय मञ्चमा आफूलाई प्रस्तुत गरेर पुरस्कृत हुँदै गर्दा त्यो उपलब्धि उक्त चलचित्रकर्मीसँगै देशको हुन्छ, त्यसकारण हामी बधाई दिन उपस्थित भएका छौँ ।”
उक्त कार्यक्रममा चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का निर्देशक अविनाशविक्रम शाहले चलचित्र निर्माण गर्दा अप्ठ्यारो भएता पनि देशमा पाएको सम्मानले आफूसहित सम्पूर्ण निर्माण समूह प्रोत्साहित भएको बताउनुभयो ।
“यस किसिमको सम्मानले हामी चलचित्रकर्मीलाई प्रोत्साहन मिल्छ, म पनि प्रोत्साहित भएको छु । अब छिट्टै अर्को चलचित्र निर्माण गर्नेछु”, निर्देशक शाहले भन्नुभयो ।
उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यसै साता सम्मान कार्यक्रम आयोजना गरी उक्त चलचित्रलाई रु दुई लाख ५० हजारसहित सम्मान गर्ने जानकारी दिनुभयो । उहाँले चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको बताउनुभयो । रासस
