RayNewsDaily
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल    

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।     
     
प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा प्रहरी महानिरीक्षक कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रेलिस्ट) बाट बाहिर निकाल्न चालिएका कदमबारे अवगत गराउनुभएको थियो ।     
     
नेपालले प्रस्तुत गरेको कार्ययोजनाको कार्यान्वयनमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत छलफल भएको थियो ।     
     
भेटका क्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई मजबुत बनाउन नेपाल प्रहरीले अन्य सरोकारवाला निकायसँग गरिरहेको प्रभावकारी समन्वय र कारबाहीको अवस्थाबारे जानकारी गराउनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।     
     
यस्तै, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र आगामी कार्यदिशाका विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो । भेटमा एपीजीका डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन र पोलिसी अफिसर किया सासलको सहभागिता रहेको थियो ।     
     
भेटका क्रमाम उहाँहरूले वित्तीय अपराध नियन्त्रणका लागि सूचना आदान-प्रदान, आपसी सहयोग र अन्तरराष्ट्रिय समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।     
     
उक्त भेटमा वित्तीय जानकारी एकाइका प्रमुख तथा पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक र प्रहरी अधिकृतहरूको सहभागिता थियो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update