काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।
हिजो बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको)गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।
डोरी टाँग्न आधारशिविरदेखि ‘क्याम्प–२’ सम्म आठ जना आइसफल डाक्टर तथा क्याम्प-२देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस
