झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ ।
सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् ।
रगत जाँचका क्रममा आर्थिक वर्ष २०७८/७९ मा एक जना, आव २०७९/८० मा दुई जना, आव २०८०/८१ मा छ जना, आव २०८१/८२ मा १४ जना र आव २०८२/८३ मा छ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ फेला परेको रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो ।
आव २०८१/८२ मा सबैभन्दा बढी १४ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ भेटिएको उहाँले जानकारी दिनुभयो । सेवा केन्द्रमा जाँच गरिएका रगतमा एचआईभी पोजेटिभ देखिएमा पुनर्पुष्टिका लागि थप परीक्षण र परामर्शका लागि सिफारिस गरिदै आएको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा केन्द्रमार्फत झापाका अस्पतालमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत आपूर्ति गर्दै आएको छ । जिल्लामा पाँच हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता छन् ।
हरेक वर्षको वर्षायाममा रक्तदान कार्यक्रम सञ्चालन नहुने र खेतीको समय हुने भएकाले जिल्लामा रगतको अभाव हुने गरेको छ । क्यान्सर, मिर्गौला, एनिमिया लगायतका बिरामीको सङ्ख्या बढ्दै गएकोले रगतको माग पनि बढिरहेको छ ।
रेडक्रसले रगत दान गर्नुअघि र गरिसकेपछि गरिने यस्ता परीक्षणले बिरामीलाई सर्न सक्ने सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ । रासस
