काठमाण्डू । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।
तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही र अन्य भेगका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । रासस
