RayNewsDaily
बाँकेमा १५६ वटा वन्यजन्तुको उद्धार    

नेपालगन्ज (बाँके) । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । जैविक मार्ग आसपासमा बढेको बस्ती र गर्मी मौसममा पानीको खोजीमा भौतारिँदै हिँडेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।     
     
उहाँले विगतका वर्षभन्दा चालु आवमा विभिन्न वन्यजन्तुको उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको उल्लेख गर्दै चित्तल, निलगाईजस्ता वन्यजन्तु जैविक मार्ग क्षेत्र आसपास पानी खोज्दै हिँडेकाले र पुरानो बस्ती भएको क्षेत्र पुरानो जङ्गल क्षेत्रमा सर्प भएकाले पनि उद्धार गरिएको बताउनुभयो । “पछिल्लो समय सर्प मार्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ, यो असाध्यै सकारात्मक विषय हो”, उहाँले भन्नुभयो ।     
     
आव २०८१/८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसैगरी आव २०८०/८१ मा ९९, आव २०७९/८० मा ४२, आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वटा वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ ।     
     
चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुवेदीले बताउनुभयो ।     
     
जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राजगोमन, अजिङ्गर, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ । विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ धामन, १९ करेत, अजिङ्गर नौवटा, सातवटा रसेल भाइपर, चारवटा पानीसर्प र एउटा राजगोमन रहेका छन् । त्यसैगरी गोही आठ, सुनगोहोरो चार, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालोबिरालो एक–एकवटा उद्धार गरिएको छ ।     
     
उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनस्र्थापना गरिएको उहाँले बताउनुभयो । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update