RayNewsDaily
पत्रकार हमाललाई ‘गोल्डमेडल’

काठमाण्डू । गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो ।

उहाँलाई विश्वविद्यालय परिसर मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आज आयोजित एक समारोहमा शिक्षामन्त्री सस्मित पोखरेललगायत अतिथिहरूले उक्त मेडलसहित सम्मान प्रदान गर्नुभयो ।

काठमाण्डूस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा पत्रकार हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो । 

पत्रकार हमालले चारवटा विषयमा (आमसञ्चारसहित राजनीतिशास्त्र, समाजशास्त्र, कानुन) मा स्नातकोत्तर गरिसक्नुभएको छ भने सार्वजनिक प्रशासनमा अध्ययनरत हुनुहुन्छ । विगत ८ वर्षदेखि काठमाण्डूस्थित गोरखापत्र संस्थानमा आबद्ध पत्रकार हमालको पत्रकारिता यात्रा विगत २७ वर्षदेखि जारी छ ।

उहाँले पत्रकारिता गरिरहँदा गत वर्ष अमेरिकाबाट भिजिटर लिडरसिपमा मिसइन्फरमेसन र डिसइन्फरमेसन तथा एआईसम्बन्धी एकमहिने कोर्स गर्नुभएको छ । त्यसको अघिल्लो वर्ष युरोपियन युनियन मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update