RayNewsDaily
हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार    

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको सुरक्षाकर्मीद्वारा उद्धार गर्न थालिएपछि यात्रुवर्गमा उत्साह थपिएको छ ।     
     
सुरक्षा निकायले मोटरबाटो नपुगेका लाङ्टाङ तथा पवित्रतीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई केन्द्रित गरी बिरामी पर्नासाथ स्टेचरमा बोकी छिटोभन्दा छिटो अस्पताल पु¥याइदिने प्रावधानले तीर्थालु तथा पर्यटकमा उत्साह थपिनुका साथै यात्रुहरूको आगमन पनि बढ्दै गएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।     
     
गोसाइँकुण्ड मेलाको समयमा लेक लागेर समस्यामा पुगेका २२ जनालाई सुरक्षा निकायका प्रतिनिधिले उद्धार गरेका समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको आगमनसँगै लाङ्टाङ पदयात्रामा जाँदै गरेका एक विदेशी पर्यटकलाई नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार गरी जीवनरक्षा गरेका छन् ।     
     
चालु आवमा उद्धार भएका पर्यटकमा १८ नेपाली र चार जना विदेशी रहेका अध्यक्ष डिएमले जानकारी दिनुभयो । उद्धार भएका विदेशीमा अष्ट्रेलियाका नागरिक ६७ वर्षीय रामेज, ५९ वर्षीय इजरायली नागरिक पेरिटी यित्शाक, थाइल्याण्डका २२ वर्षीय उप्रा सुखोन तोस्रा र इटालीकी ३६ वर्षीया अत्न्ग्मा सुकान्ने मामी रहनुभएका सुरक्षा निकायले जनाएको छ । बिरामी भई जटिल अवस्थामा पुगिसकेका व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरी नयाँ जीवन दिलाएका उहाँको भनाइ छ ।     
     
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहीका अनुसार पछिल्लो समय बिरामी परेका अस्ट्रेलियन नागरिक भने रिभर होटल नजिक प्लास्टिकको ओतमुनि अशक्त अवस्थामा भेटी उद्धार गरिएका जानकारी दिनुभयो । “उहाँलाई नेपाली सेनाको श्रीनाथ गण र रसुवा प्रहरीको संयुक्त टोलीले बोकेर सुरक्षित रूपमा जिल्ला अस्पताल धुञ्चे पु¥याएको थियो”, उहाँले भन्नुभयो ।     
     
उद्धारपछि अस्पतालमा गरिएको उपचार सफल हुर्दै गएको बताउँदै बिरामीको अवस्था सुधारोन्मुख रहेको जिल्ला अस्पताल रसुवाका सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिनुभयो ।     
     
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्रा गर्ने क्रममा पर्यटक तथा यात्रु बिरामी, घाइते वा अलपत्र पर्दा रसुवामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निरन्तर मानवीय सेवामा समर्पित हुँदै उद्धार कार्य गर्दै आएका छन् । दुर्गम हिमाली भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण बाटोका बाबजुद सुरक्षाकर्मीले देखाउँदै आएको साहस, समर्पण र सेवा भावले नेपाली सुरक्षा अङ्गप्रतिको विश्वास यात्रु माझ अझ मजबुत बन्दै गएको नागरिक समाजले जनाएको छ ।     
     
विगतदेखि हिमाली क्षेत्रमा भएका यस्ता उद्धार कार्यले नेपाललाई सुरक्षित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको सरोकार भएकाहरूको भनाइ छ । सुरक्षाकर्मीको तत्परता र मानवीय संवेदनशीलताले सङ्कटमा परेका स्वदेशी तथा विदेशी यात्रुलाई नयाँ जीवन प्रदान गर्दै आएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update