चितवन । ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताहा विभिन्न कार्यक्रमसहित मनाइँदै छ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूले विभिन्न कार्यक्रमहरूसहित मनाइरहेका छन् ।
यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ । सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उहाँले बताउनुभयो ।
यस्तै वैशाख १ गते निकुञ्जको कार्यालयमा झण्डा फेर्ने र सरसफाइ गरिएको, वैशाख २ गते चरा अवलोकन, ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरिएको थियो । ५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तक्र्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुवाट टुहुरा बनाइएका बालबालिकालाई छात्रबृत्ति प्रदान र अन्तिम दिन ७ गते सोमबार वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तक्र्रिया गरिने छ ।
यस्ता कार्यक्रमहरूले वन्यजन्तु संरक्षणमा समुदायको भूमिकाका बारेमा जानकारी दिँदै संरक्षणमा टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ ।
सप्ताहका क्रममा नेपाल जोलोजिकल सोसाइटी बागमती प्रदेश र वीरेन्द्र बहुमुखी क्याम्पस प्राणीशास्त्र विभागले आज प्रभातफेरी गरेको छ । भरतपुर–१० रमाइलोचोकबाट निस्किएको प्रभातफेरी दीपेन्द्रचोक, सिनर्जी चोक, पूर्णिमा चोक हुँदै पुनः रमाइलो चोकमा पुगेर सम्पन्न भएको वीरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर घिमिरेले बताउनुभयो । रासस
