काठमाण्डू । नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ नेपाल–चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक प्रकाशन गरिएको छ ।
नेपाल इन्सटिच्युसन फर इन्टरनेसनल कोअपरेसन एन्ड इङ्गेजमेन्ट (नाइस) र फुडान युनिर्भसिटीको संयुक्त सहकार्यमा दिल्लीस्थित अड्रोइट प्रकाशनले उक्त पुस्तक प्रकाशन गरेको हो । चिनियाँ प्रोफेसर डा चाङ चिन्डोङ र विवेकध्वज थापाद्वारा सम्पादित उक्त पुस्तक आज काठमाडौँमा लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ पूर्वराजदूतद्वय डा महेशकुमार मास्के, विष्णुपुकार श्रेष्ठ, चिनियाँ प्रोफेसर चिन्डोङ र सम्पादक थापाले सामूहिक रुपमा पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा मास्केले नेपाल र चीनबीचको प्राचीन सम्बन्ध सभ्यतासँग जोडिएको हुँदा यसलाई कूटनीतिक दृष्टिले मात्रै हेरेर सीमित धारणा बनाउन नमिल्ने बताउनुभयो । उहाँले एक चीन नीतिलाई नेपालले स्वागत गरेको र चीनले पछिल्लो नेपालको राजनीतिक परिवर्तन नजिकबाट नियालेको समेत प्रष्ट पार्नुभयो ।
पूर्वराजदूत श्रेष्ठले नेपाल र चीनको मित्रता अरु देशको तुलनामा भिन्न रहेको बताउनुभयो । उहाँका अनुसार कूटनीतिक रुपमा ७० वर्ष पहिले दुई देशको औपचारिक मित्रता सुरु भएजस्तो देखिए पनि योभन्दा अगाडि तेस्रो शताब्दीदेखि नै सभ्यताको आधारमा सम्बन्ध विस्तार भइरहेको बताउनुभयो । “हाम्रो मुख्य मित्रताको केन्द्र भनेकै सभ्यता हो”, उहाँले भन्नुभयो, “प्राचीनदेखि आधुनिक कूटनीतिक सम्बन्धको यात्रा हेर्दा नेपाल–चीनको सम्बन्ध मजबुत बन्दै गएको छ ।”
प्रोफेसर चिन्डोङले नेपालमा युवा पुस्ताको सरकार आएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धले आधुनिक उचाइ थप्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार प्राचीन सभ्यताले जोडेको सम्बन्धलाई अब डिजिटल युगसम्म आइपुग्दा आर्टिफिसियल इन्टेलिजेन्टस् (एआई) का क्षेत्रमा समेत दुई देशबीचको सहकार्य बलियो बनाउनुपर्छ ।
यसैगरी, पुस्तकका सम्पादक थापाले ट्रान्स हिमालयन कनेक्टीभिटी, सफ्ट पावर इङ्गेजमेन्ट, चीन नेपाल सम्बन्ध इतिहासलगायतका विषय समेटिएका लेखहरु पुस्तकमा समावेश गरिएको बताउनुभयो ।
पुस्तकमा चीन र नेपालका विज्ञहरुद्वारा लेखिएका ३४ लेखहरु समावेश छन् । लेखक प्रशान्तकुमार विकले चीन र नेपालका विद्वानहरुले सहकार्य गरेर लेखिएको यो पहिलो पुस्तक रहेको बताउनुभयो । रासस
