कास्की । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ ।
पोखरा-९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।
पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद्् तथा जोखिम न्यूनीकरण केन्द्रू स्थापना गरिएको हो । केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । पोखरासमेत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो ।
प्रहरी तथा डिआरआरसी एकै स्थानमा रहेकाले महागनरमा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा विपद् सामग्रीको भण्डारण गर्न सहयोग पुग्ने महागनर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा प्रविधि जडान गरी जोखिमयुक्त क्षेत्रहरूको निगरानी, सूचना सङ्कलन र विश्लेषण गरिने छ ।
पोखरा महानगर विपद्का हिसाबले जोखिम क्षेत्र रहेको छ । यहाँका तालतलैया, गुफा, सेती नदीलगायत नदीहरूमा बर्सेनि प्राकृतिक विपद्का घटना हुने गरेका छन् । महानगर प्रमुख आचार्यले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न महानगरले योजनाबद्ध हिसाबले काम गरेको बताउनुभयो ।
“विपद्जन्य घटनामा प्रभावकारी उद्धार र परिचालनका लागि केन्द्रले एकै ठाउँबाट काम गर्नेछ । विपद् उद्धारका लागि आवश्यक दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ”, आचार्यले भन्नुभयो ।
महानगरका अनुसार ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरेर स्थानीय समुदायलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा विपद् जोखिमका हिसाबले संवेदनशील रहेको बताउनुभयो । यहाँका खोँच, नदी, तालहरूका कारण जोखिम बढी रहेकाले सञ्चालनमा ल्याइएको विपद् जोखिम न्यूनीकरण केन्द्रले अप्ठ्यारो र सङ्कटको अवस्थामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
