काठमाडौँ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपालको आयोजनामा चिनियाँ आधुनिकीकरण विषयक एक शैक्षिक व्याख्यान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
आज काठमाडौँको टंगालस्थित होलिडे इन एक्सप्रेसमा सम्पन्न कार्यक्रममा चीनको फुदान विश्वविद्यालय अन्तर्गत दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक प्राध्यापक झाङ जियाडोङ प्रमुख वक्ताका रूपमा मन्तव्य दिनुभएको थियो ।
प्राध्यापक झाङले चिनियाँ आधुनिकीकरणको विशिष्टता माथि प्रकाश पार्दै यसले क्रमिक आर्थिक सुधार, सुदृढ संस्थागत क्षमता तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा आधारित शासन प्रणालीमार्फत कसरी उल्लेखनीय आर्थिक वृद्धि, गरिबी न्यूनीकरण तथा प्राविधिक प्रगति हासिल गरेको छ भन्ने विषयमा विस्तृत व्याख्यासहित मन्तव्य राख्नुभएको थियो । उहाँले चीनको वैदेशिक नीतिका प्रमुख अवधारणाहरू, विशेषतः “मानव जातिको साझा भविष्यको समुदाय” निर्माण गर्ने दृष्टिकोण तथा “मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशिता” का सिद्धान्तहरूबारे पनि चर्चा गर्नुभएको थियो । यसले छिमेकी कूटनीतिमा मार्गदर्शन प्रदान गर्ने प्राध्यापक झाङले बताउनुभयो ।

कार्यक्रमा विचार राख्ने अन्य वक्ताह?ले चीन–नेपाल सम्बन्धका विभिन्न पक्षहरूमा पनि विशेष जोड दिनुका साथै ऐतिहासिक सम्बन्ध, विस्तार हुँदै गएको आर्थिक सहकार्य तथा जनस्तरको आदान-प्रदानलाई उल्लेख गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका सहकार्यहरूले क्षेत्रीय कनेक्टिभिटी र विकासका नयाँ अवसरहरू सिर्जना गरेको बताएका थिए । कार्यक्रममा शासन प्रणाली, आर्थिक दिगोपन र नेपाल-चीन सम्बन्धका विभिन्न आयामहरूबारेमा पनि विचार विमर्श भएको थियो ।

यो कार्यक्रम फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपालको निरन्तर पहलअन्तर्गत आयोजना गरिएको हो । यसको उद्देश्य शैक्षिक संवाद प्रवद्र्धन गर्नुका साथै क्षेत्रीय तथा विश्वव्यापी विषयमा समझदारी अभिवृद्धि गर्नु रहेको आयोजक जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, प्राध्यापक, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका पेशागत व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
