काठमाडौँ । एम्प्युटी रनवे नेपाल २०२६ सम्पन्न भएको छ । निर्मला फाउन्डेसनद्वारा आयोजित एम्प्युटी रनवे नेपाल २०२६ यही शनिबार दरबारमार्गस्थित क्लब प्लेटिनममा भव्य र प्रेरणादायी रूपमा सम्पन्न भएको हो ।
फ्रम द साइडलाइन टु द स्पटलाइट “From the Sideline to the Spotlight” भन्ने थिमलाई आत्मसात गर्दै आयोजित कार्यक्रमलाई आत्मविश्वास, साहस र प्रतिनिधित्वको शक्तिशाली उत्सव प्रस्तुत मनाइएको आयोजक निर्मला फाउन्डेसनले जनाएको छ । एम्प्युटी रनवे नेपाल २०२६ मा विविध कारणले आफ्नो हातखुट्टा गुमाएका व्यक्तिहरूले र्याम वाक गर्नुभएको थियो । शनिबार सम्पन्न रनवेको यो दोस्रो संस्करण हो । यस पटकको संस्करणलाई र्याम वाक प्रतियोगिताका रुपमा प्रस्तुत गरिएको थियो । प्रतियोगितामा प्रतियोगीहरुले कृत्रिम हातखुट्टाको प्रयोग गरि ¥याप वाक गर्नुभएको थियो । सुन्दर शरीर, आर्कषक हिडाइ र राम्रा वस्त्रहरु लगाएर गरिने र्याम वाकलाई फेसनको दुनियाँ सौन्दर्यको मानक मानिन्छ । र्याम वाकलाई फेसन संसारमा निकै महत्वका साथ हेरिन्छ । तर आयोजक निर्मला फाउन्डेसनले सौन्दर्य शारीरिक पूर्णतामा नहुने बरु यो व्यक्ति भित्र रहेको क्षमता, सोच र आत्मविश्वास रहन्छ भन्ने सन्देश दिनको लागि आयोजना गरेको महत्वाकाक्षी कार्यक्रम हो । कार्यक्रमले सौन्दर्य, शक्ति र पहिचानलाई नयाँ परिभाषा दिएकने आयोजक निर्मला फाउन्डेसनकी संस्थापक निर्मला भण्डारीको भनाइ छ । साधारण फेसन शोभन्दा फरक रुपमा प्रस्तुत एम्प्युटी रनवे नेपाल २०२६ आत्मबल, आत्म अभिव्यक्ति र आन्तरिक शक्तिको उत्सवका रूपमा स्थापित भएको भण्डारीले बताउनुभयो ।

यसपटक प्रतियोगिताको रुपमा आयोजित एम्प्युटी रनवे नेपाल २०२६ मा रिमा पुरी विजेता घोषित हुनुभयो । उहाँले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । यस्तै कार्यक्रममा निर्मला परियार, गंगा पुरी, धनबहादुर महता र प्रकाश सिंह उपविजेताहरू बन्दै जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस एम्प्युटी रनवे नेपाल २०२६ खेलकुद, पेशागत तथा सामाजिक क्षेत्रमा आबद्ध रहनुभएका आठ जना महिला र चार जना पुरुष सहभागी हुनुभएको थियो । एम्प्युटी फुटबल खेलाडीहरूको उपस्थितिले कार्यक्रमलाई अझ ऊर्जावान र प्रेरणादायी बनाएको थियो । कार्यक्रममा नायिका, गायिका एवंम् मोडल पुजा लामाले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रममा प्रतिस्पर्धीको कोरियाग्राफी फेसन कोरियोग्राफर विशाल गुरुङले गर्नुभएको थियो ।

अप्रिल महिना विश्वभर 'लिम्ब लस अवरनेस मन्थ Limb Loss Awareness Month' का रूपमा मनाइने भएकाले यस कार्यक्रमले अपांगता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नको आयोजना गरिएको कार्यक्रम सफल भएको निर्मला फाउन्डेसनले जनाएको छ । कार्यक्रमले कृत्रिम अंग प्रयोग गर्ने व्यक्तिहरू पनि फेसन, सिर्जनशीलता र आत्मअभिव्यक्तिमा पूर्ण रूपमा सहभागी हुन सक्ने सन्देश दिएको छ । कार्यक्रममा सहभागीहरूले डिजाइनर पोशाकमा आत्मविश्वासका साथ हिँड्दै आफ्नो कृत्रिम अंगलाई कमजोरी नभई शक्तिको प्रतीकका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मिडिया पार्टनरका रूपमा Ray TV HD, डिजिटल पार्टनरका रूपमा Nepal on the Web, भोलिन्टियर पार्टनरका रूपमा Art of Living Nepal र डिजाइन पार्टनरका रूपमा Soch, The Creation र भेन्यु पार्टनरको रुपमा क्लब प्याटिनियमले साथ-सहयोग दिएका थिए ।
