काठमाण्डू । नइ एकेडेमीद्वारा काठमाण्डूमा आयोजित तीन दिने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आज सम्पन्न भएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंले समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
सोअवसरमा समालोचक प्रा.डा. त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक सम्वर्द्धनका साथै ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत उहाँहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको हो । यी सबै पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।
आज प्रा.डा. ऋषिराम शर्मा, प्राडा कपिलदेव लामिछाने, प्रा.डा. कविता लामा, प्रा केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा.डा. खेमराज जोशी (मरणोपरान्त), प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. चूडामणि बन्धु, प्राडा जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, प्राडा भरतकुमार भट्टराई, प्राडा महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, डा. राजकुमार क्षत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्राडा लेखप्रसाद निरौला, प्रा.डा. शिवगोपाल रिसाल, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. हर्कबहादुर शाही र संयुक्त रूपमा डा. सञ्जय राई तथा डा. अरुणा राई पुरस्कृत हुनुभएको छ ।
समारोहमा प्रा.डा. त्रिपाठीले डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईंलाई जनही रु पच्चिस पच्चिस हजार राशिको नइ कपिल प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको थियो ।
साथै ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिका लागि अहोरात्र समर्पित भई ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थका साथै अन्य विविध सामग्रीहरूको प्रेस सम्पादन कार्यमा अविस्मरणीय योगदान पुर्याएबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही रु दश दश हजार राशिसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरिएको छ ।
नइ एकेडेमीका कुलपति प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्राडा वासुदेव त्रिपाठीलगायत नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका २४ जना प्रतिनिधि प्राध्यापक र सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले सम्मेलका उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियो । रासस
