देवदह (रुपन्देही) । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गर्नुभएको छ । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उहाँहरूले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको हो ।
समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान् गौतमबुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको उहाँको भनाइ छ । “विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ”, उहाँले भन्नुभयो । नगरप्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी–व्यवसायी धरासायी अवस्थामा पुगेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गर्नुभयो । सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहनुभएका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताउनुभयो ।रासस
