RayNewsDaily
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाइपूर्ण यात्रा ?        

राजकुमार पराजुली/काभ्रेपलाञ्चोक । बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ ।     
     
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग । विशेषगरी यस राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको विभिन्न क्षेत्रस्थित सडकखण्डमा यस र अघिल्लो वर्षको असोजका बाढीपहिरोले ‘थिलथिलो’ नै बनाएको छ । यस राजमार्गको मध्यक्षेत्र अर्थात काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत् तथा बगाएपछि यात्रा जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । उक्त राजमार्गको सडक-सम्पर्क बिच्छेदसमेत भएको हो ।     
     
वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि दुई वटाका असोजका अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको थियो । यसवर्ष पनि गत असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसा नै मेटिनेगरी, पैदलसमेत हिड्ने नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदिएको थियो । गत साल असोजमा क्षत्विक्षत् राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिएपनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बन्नुपर्‍यो ।     
     
डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार करिब चार किलोमिटर सडक नै बगाएको छ । यसका कारण खोलाबाटै डाइभर्सन बनाएर सवारी स्ञ्चालनमा ल्याउनुप¥यो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै नारायणघाट-मुग्लिन–काठमाडौँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।     
     
गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिनपछि गत असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको हो । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढीपहिरोले थप क्षतिग्रस्त बनाएको हो ।     
     
राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ । यस्तै गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।     
     
गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएका थियो । गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो । त्यसलाई पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । यसैबीच पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रुपमा पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको हो ।     
     
राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीब्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार राजमार्गमा भैरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।     
     
विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस बर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पक्रिया पु¥याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षग्रिस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिनुभयो । क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट पर्खाल लगाउन तथा चारसयबेँशी र भकुण्डेबेँशीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताउनुभयो । उहाँका अनुसार गतवर्ष र यसवर्षको बाढीले सडक पूर्ण क्षति भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।     
     
राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।     
     
अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।     
     
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ८ किमी सडक पुनःनिर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।     
     
क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । बिस्तृत अनुगमन निरीक्षण गरी पुनः अस्थायी बनाउने काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो ।     
     
गत असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ । इन्जिनियर अधिकारीका अनुसार बीपी राजमार्गअन्तर्गत उक्त सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पु¥याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गरिने अधिकारीको भनाई छ ।     
     
कार्यालयका अनुसार हाल एक सय १० किलोमिटर सडकमा यातायात पुनः सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ । कार्यालयले गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेलाको बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।     
     
यस्तै क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । राजमार्गमा जोखिमका कारण पटकपटक विशेषगरी राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएको छ । दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत भने तेब्बर सवारी साधन ओहोरदोहोरनै गर्छन् ।     
     
त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने निकाय भने प्रायः मुकदर्शक नै बन्ने गरेको पाइन्छ । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । बेलाबखत प्रहरीले चेकिङ गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आएका पनि छन् ।     
     
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन् । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update