RayNewsDaily
गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप   

गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।    
    
 पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ । त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिनुभयो ।    
    
 त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार छ सय ४७ बाख्रालाई पिपिआरविरुद्धको तथा एक हजार चार सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।    
    
 जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा आर्चायले बताउनुभयो । “खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पिपिआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन”, उहाँले भन्नुभयो ।    

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update