रे समाचार/काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले यही चैत १४ गते एक समारोहका बीच चार जना स्रष्टालाई ४५औं झपट पुरस्कार प्रदान गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र तथा पुरस्कार राशि हस्तान्तरण गर्नुभएको हो ।
सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक-एक लाख रुपियाँ तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिएको हो । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गरियो भने शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरियो ।
यसैगरी नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ संयुक्त रूपमा प्रदान गरियो । पुरस्कृत स्रष्टाहरूको नाम इन्दिरा प्रसाईंको संयोजकत्वमा गठित प्रा.डा. हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले सिफारिस गरेको थियो ।

यसै कार्यक्रममा सदस्यसचिव रेखा राणाद्वारा लिखित ‘अनन्त कृतज्ञता’ (Endless Gratutude) नामक पुस्तकको पनि विमोचन गरियो । प्रा.डा. वासुदेव त्रिपाठीले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा स्रष्टहरूका साथै साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
