RayNewsDaily
आजदेखि फेरि वर्षा हुँदै   

काठमाण्डू । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार)देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ ।         
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताउनुभयो ।    
    
बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ ।    
    
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्ने र सबै प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।    
    
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बाँकी भूभागमा आंशिक बादल लाग्ने तथा कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोखिन पनि विभागले सबैमा अनुरोध गरेको छ । रासस   
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update