RayNewsDaily
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी   

म्याग्दी । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो ।    
    
 पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न, पोखरीमा पानी भरेर चिस्यान कायम राख्न र डढेलो निभाउनका लागि आवश्यकपर्ने पानी सङ्कलन गर्न पोखरी बनाउन लागिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो ।    
    
 “पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम सुरु गरेका थियौँ । उक्ता कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “वनमा पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।” पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यकपर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताउनुभयो ।    
    
 बेनी नगरपालिका-५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका-१ कुहुँको पात्लेपानी, धवलागिरि गाउँपालिका-३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका-६ को ठाडाखानी, मालिका गाउँपालिका-६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका-७ को घराम्दी सामुदायिक वन पोखरी बनाउन छनोट भएका छन् ।    
    
राससका अनुसार करिब ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८/७९ मा १०, २०७९/८० मा छ, २०८०/८१ मा १० र २०८१/८२ मा पाँच गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् । जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानवबस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन् ।    
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update