रे समाचार/काठमाडौं । नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कवितासङ्ग्रमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नु भएको थियो । उहाँका तीन वटा कृति र एक सय जति फुटकर लेख, रचना प्रकाशित छन् ।
आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय पनि गरिएको वानीरा फाउन्डेसनले जनाएको छ ।
यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।
साथै आख्यान, कविता र हास्यव्यङ्य लेखनमा सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
त्यसै गरी किशोरावस्थादेखि नै समाजसेवामा उत्सर्गिक भई खास गरेर काठमाडौँ महानगरपालिकाको वडा नम्बर तीसको विकासमा सदैव समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्ने निर्णय भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरु डा.गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण हुनेछन् ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाउनुभएको छ ।
