रमेश हतुवाली/विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा ठूलो हावाहुरीसहित वर्षा हुन थालेको छ ।
अहिले राति ८:५० बजेदेखि सुरु भएको हावाहुरी र वर्षातले पुर्याएको क्षतिका बारेमा कुनै जानकारी प्राप्त भएको छैन । पूर्वी नेपालका सिराहा, सप्तरी, उदयपुर, सुनसरी, धनकुटा, मोरङ लगायतका जिल्लाहरुमा आज दिनभरीनै आकाश धमिलो रहेको थियो । राजविराजस्थित स्थानीय सञ्चारकर्मीहरुले साँझ ७:३० बजेदेखिनै हावाहुरी र वर्षा भएको जानकारी दिएका छन् ।
मौसम पूर्वानूमान महाशाखाले आज शुक्रबार र भोलि शनिबार नेपालका तराई मधेसका जिल्ला र पूर्वी नेपालका धनकुटा लगायतका जिल्लामा हावाहुरीसहित वर्षा हुने जानकारी गराएको थियो । जस अनुसार अधिकांश क्षेत्रका वासिन्दाहरु आज र भोलि आउन सक्ने हावाहुरी र वर्षातबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्न सजग देखिएका छन् ।
यस वर्ष तराई मधेसमा प्रशस्त मात्रामा आँप फूलेर पँहेलपुर भएका हुनाले लगाइएका आँपका बोटमा क्षति पुग्छ कि भनि किसानहरु चिन्तित देखिएका छन् भने पूर्वी नेपालका विभिन्न जिल्लामा लगाईएका केराहरु पनि हावाहुरीका कारण नष्ट हुन सक्ने भन्दै किसानहरु पिरोलिएका छन् ।
समाचार तयार पार्दा सम्म गड्याङ गुडुङ सहित पानी परिरहेको छ । हावाहुरीकै कारण विराटनगरका अधिकांश वडाहरुमा विद्युत सेवा बन्द गरिएको छ ।
