RayNewsDaily
नैनीतालका नेपाली मजदुर भन्छन्- नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ       

शेरबहादुर सिंह/नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिनुभयो । तीन दशकदेखि नैनीतालमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आउनु भएका रेग्मीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बन्ने सरकारले मजदुर वर्गको उत्थान गर्ला कि भन्ने अपेक्षा गर्नुभएको रहेछ ।     
     
“हुनेखानेका लागि नैनीताल पर्यटकीय गन्तव्य हो, यहाँ गर्मी छल्न धेरै ठाउँका मानिस आउने गर्छन्,” रेग्मीले भन्नुभयो, “हामी जस्ता गरिबको गुजारा गर्ने ठाउँ पनि नैनीताल नै हो । जेनजी आन्दोलनपछि मुलुकमा सुशासनका लागि भएको परिर्वतनले देशभित्र रोजगारीका अवसर प्राप्त हुने आशा गरेको छु ।” दिनभरी भारी बोकेर साँझ सात सय भारतीय रुपैयाँ ज्याला पाउने गरेको उहाँले बताउनुभयो ।     
     
रेग्मी एक उदाहरण मात्र हुन् । उहाँजस्ता धेरै नेपाली मजदुर लामो समयदेखि नैनीतालमा ज्यालादारी गर्दै आएका छन् । उनीहरु अब गठन हुने सरकारले देशमै रोजगारी दिने आशामा छन् । “युवाले देश चलाउने खबरले खुसी छौँ र युवा पुस्ताले देशभित्रै काम गर्ने वातावरण पाउन् भन्ने आशा छ”, दैलेखका ६५ वर्षीय बमबहादुर ठकुरीले भन्नुभयो, “देशभित्र स्मृद्धिको वातावरण बनाउन सबै पार्टी एकजुट हुनुपर्छ ।” विगत बीस वर्षदेखि नैनीतालमा काम गर्दै आउनु भएका ठकुरीले यहाँको आम्दानीले घरखर्च चलिरहेको बताउनुभयो । “नैनीताल आउजाउ गर्न थालेको बीस वर्ष भयो”, उहाँले भन्नुभयो, “नैनीताल क्षेत्रमा मात्रै एक हजार बढी नेपाली ज्याला मजदुरी गर्छन् ।”     
     
त्यसैगरी कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७५ वर्षीय पदमबहादुर विष्ट दैनिकजसो नैनीतालमा फलफूल र तरकारीका भारी बोक्नुहुन्छ । विष्ट पहिलो पटक ज्याला मजदुरी गर्न २०५२ सालमा नैनीताल आउनु भएको थियो । हाल उहाँ कान्छो छोरासहित नैनीतालमा मजदुरी गर्नुहुन्छ ।     
     
“नेपालमा पनि सामाजिक सुरक्षा भत्ता पाउँछु”, विष्टले भन्नुभयो, “तर त्यही भत्ताले मात्र घर चलाउन पुग्दैन । फलफूलको भारी बोकेर यहाँ पनि दैनिक एक हजार जति कमाइरहेको छु ।” उहाँले वृद्धावस्थामा घर छाडेर ज्यालादारीमा परदेश आउनु आफ्नो रहर नभएर बाध्यता भएको बताउनुभयो । नैनीतालको तल्ली र मल्लीताल क्षेत्रमा सामग्री ढुवानीमा ठूला सवारी साधन प्रयोग हुँदैनन् । तोकिएको स्थानमा सामग्री ढुवानी भए पनि ताल वरपरको क्षेत्रमा निर्माण सामग्रीदेखि खाद्यान्न ढुवानीका अधिकांश काम नेपाली मजदुरले गर्छन् ।     
     
कालीकोट पलाँता गाउँपालिकाका ३० वर्षीय जयबहादुर बुढा मल्ली तालमा नाङ्लो र डोरी लिएर काम खोज्दै हिँडेको अवस्थामा भेटिनुभयो । “कहिलेकाहीँ त ढुवानीका लागि सामान पाउन पनि गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “महिनामा २०/२२ हजार कमाइ हुन्छ ।” उहाँले पनि नयाँ बन्ने सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाइदिनुपर्ने माग गर्नुभयो ।     
     
यहाँ बाध्यताले मजदुरी गर्न आउने अधिकांशलाई थाहा छ, युवाशक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा गएर आफ्नो देशको विकास हुदैन । तर के गर्ने जिविकाका लागि भएपनि देश छोड्नै पर्ने बाध्यताले उनीहरु बर्षौँदेखि दोस्रो या तेस्रो मुलुकमा पसिना बगाउन बाध्य छन् । उनीहरु सबैको एउटै आवाज छ, “मुलुकको अवस्था परिर्वतनका लागि राज्यले मुलुकभित्रै युवा जनशक्तिलाई रोजगार दिन सक्नुपर्छ ।” रासस

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update