RayNewsDaily
हुरीका कारण झापामा केराखेतीमा क्षति        

झापा । तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका-७ का किसानचन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ ।     
कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ । “भाँचिएका सबै केराघरी लागेका रहेछन्”, उहाँले भन्नुभयो, “पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ ।”     
उहाँका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब रु १६ लाखको क्षति भएको उहाँले बताउनुभयो ।     
     
 किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मारमा पारेको बताउनुभयो । यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उहाँको करिब रु एक करोड बराबरको केराखेती नष्ट गरेको थियो ।     
     
 “बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो”, बस्नेतले भन्नुभयोे, “अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति । प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो ।” रासस 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update