काठमाडौँ । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ ।
विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ ।
त्यसैगरी, वन-जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो-धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गर्नुभयो ।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उहाँले बताउनुभयो ।
प्रदूषण बिहान-बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ । रासस
