रे समाचार/काठमाण्डू । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०३ वटा क्षेत्रमा विजयी भएको छ । आज बिहान ८ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारहरुले २४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले १४ वटा क्षेत्रमा जित हासिल गरेको छ भने ४ वटा स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने ४ वटा स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ५ जना उम्मेदवार विजयी हुनुभएको छ भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ । अग्रस्थानमा रहेका उम्मेदवारहरुमा सुनसरी १ वटा हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई हुनुुहुन्छ ।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म रास्वपाले ११ लाख ९५ हजार ५ सय ९०, नेपाली कांग्रेसले ४ लाख ६ सय ४०, नेकपा (एमाले)ले ३ लाख २० हजार ६ सय ८५ र नेपाली कम्युनिष्ट पार्टीले १ लाख ५२ हजार ९ सय ५३मत प्राप्त गरेका छन् ।
