रे समाचार/झापा । प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा चासो र महत्वका साथ हेरिएको झापा निर्वाचन क्षेत्र नम्वर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भारी मतान्तरले निर्वाचित हुने पक्का भएको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ५९ हजार ५ सय ६८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गर्नुभएको छ । ओली साह भन्दा ४३ हजार २ सय १८ मतले पछि हुनुहुन्छ । बालेन्द्र साहसँगको मतान्तरले केपी शर्मा ओलीको झण्डै ६ दशक लामो राजनीतिक विरासत पूर्णत धरासायी भएको छ ।
गत भदौं २३ र २४ गते भएको जेन जी आन्दोलनले सत्ता छाडेर भाग्न बाध्य हुनु भएका ओलीलाई प्रतिनिधि सभाको यहि फागुन २१ गते भएको निर्वाचनमा अत्यन्त कम मत प्राप्त भए पछि उहाँको मात्र नभएर उहाँले नेतृत्व गर्नुभएको पार्टी नेकपा एमालेको राजनीतिक हैसियत पनि संकटपूर्ण बनेको विज्ञहरु बताउँछन् ।
पछिल्लो मत गणना अनुसार एमालेका उम्मेदवारले ३ सीट मात्र प्राप्त गर्नु र ८ वटा स्थानमा मात्र अग्रता लिनुले सो पार्टीलाई जनादेशले १० सीटमा खुम्च्याउने सम्भावना रहेको पनि विज्ञहरु बताउँछन् ।
