रमेश हतुवाली/विराटनगर । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए लगत्तै सुरु भएको मतगणना कार्य निरन्तर चलिरहेको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १०८ वटा स्थानका अग्रता हासिल गरेको छ । सो पार्टीका तर्फबाट ४ जना उम्मेदवार विजयी भैसकेका छन् ।
मत गणनाको जारी परिणामले नेपाली राजनीतिको क्षेत्रमा ऐतिहासिक विरासत बोकेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्यूनिष्ट पार्टी माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । यी तिनवटै पार्टी लगायत मधेसवादी दलहरु पनि सोच्नै नसक्ने गरि खुम्चन बाध्य भएका छन् ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले १३/१३ वटा स्थानमा अघि रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टी ९ स्थानमा, श्रम संस्कृति पार्टी ६ वटा स्थानमा अगाडी रहेका छन् । त्यसैगरी राप्रपा, प्रलोपा, जसपा एक एक स्थानमा अघि रहेका छन् । मतदान हुनु अघि सम्म निक्कै ठूलो चर्चामा रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि नराम्रो हार व्यहोर्न बाध्य भएको छ ।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले एक एक स्थानमा जीत हासिल गर्दा पनि नेकपा एमालेले अहिलेसम्म पनि सो मौका पाउन सकेको छैन । जसलाई एमालेकै कार्यकर्ता र नेताहरुले आश्चर्य भनि टिप्पणी गरेका छन् । तराईमधेसका अधिकांश जिल्लाहरुमा रास्वपाका उम्मेदवारहरुको अग्रता कायमै रहेको हुनाले धेरैले दुई तिहाईसम्म सो पार्टीले जित्ने अनुमान गरेका छन् । तर पहाडी क्षेत्रको मतगणनाको पछिल्लो परिणामले भने त्यसो हुन हम्मे हम्मे पर्ने बताईएको छ । यद्यपी एकमना सरकार बनाउने बाटो रास्वपाका लागि खुलेको प्रारम्भिक मत परिणामले देखाएको छ ।
नेपाली राजनीतिका हस्ति र झापाली आन्दोलनका नेतृत्वकर्ता मानिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समेत रास्वपाका उम्मेदवार तथा वरिष्ठ नेता बालेन्द्र साह भन्दा निक्कै पछि पर्नु भएको छ ।
मतगणनाका पछिल्ला परिणामहरुले आगामी संसदमा नयाँ पार्टी र नयाँ विचार बोकेका युवा सांसदहरुको बाहुल्यता रहने स्पष्ट संकेत देखिएको छ । पटक पटक सरकार बनाउने र गिराउने खेलबाट वाक्क भएका जनताले स्थिर सरकार निर्माणका लागि यस पटक रास्वपाका उम्मेदवारहरुलाई मतदान गरेको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।
देशैभर यत्तिवेला पनि मतगणना जारी छ ।
