सुरुङ्गा(झापा) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार झापा-१ मा रास्वपाकी निशा डाँगी, झापा-२ मा इन्दिरा राना मगर, झापा-३ मा प्रकाश पाठक, झापा-४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ ।
झापा-५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले एक हजार ४२८ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १२९ मत प्राप्त गर्नुभयो ।
झापा-१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै झापा-२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि हुनहुन्छ । नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईले १९१ मत प्राप्त गर्नुभएको छ ।
झापा-३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा रहनुभएको छ । राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गर्नुभएको छ ।
झापा-४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि हुनुहुन्छ । नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गर्नुभएको छ । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
