RayNewsDaily
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै   

मुस्ताङ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ-डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।    
    
हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गर्नुभयो ।    
    
 मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।    
    
 मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।    
    
 यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत÷वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।    
    
 केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन । रासस   
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update