RayNewsDaily
प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान   

म्याग्दी ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।    
    
भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी दररेट अनुसार करिब रु १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।    
    
जग्गादाता गिरी र उहाँकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ । जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उहाँले बताउनुभयो । राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।    
    
म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन ।  सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन् । जग्गा प्राप्त प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ ।    
    
सिञ्गा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् । रासस   
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update