RayNewsDaily
नयाँ चिनियाँ राजदूत चाङ काठमाण्डूमा

रे समाचार/काठमाण्डू ।  नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ आफ्नो कार्यभार संहाल्न आज काठमाण्डू आइपुग्नुभएको छ ।

यसअघि चिनियाँ राजदूत रहनुभएका छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चीनको परराष्ट्र मन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको हो ।

चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उपमहानिर्देशकहरूमध्ये एक हुनुहुन्छ । नवनियुक्त राजदूत चाङ आज बिहान एयर चाइनाको विमान मार्फत काठमाडौं आइपुग्नुभएको हो । उहाँलाई चिनियाँ दूतावास काठमाडौंका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

काठमाडौँ आएलगत्तै चिनियाँ राजदूत चाङले सामाजिक सञ्जालमा आफू आइपुगेको जानकारी औपचारिक रूपमा गराउनुभएको छ । ‘नेपालका लागि जनवादी गणतन्त्र चीनको २३औँ असाधारण तथा पूर्णअधिकारी राजदूतको रूपमा नियुक्त हुन पाउनु मेरो ठूलो सम्मानको कुरा हो ।' उहाँले सञ्जालमा लेख्नुभएको छ ।

नेपाल आएदेखि नै मित्रवत् नेपाली जनताबाट मैले न्यानो स्वागत पाएको र नेपालको सुन्दरता एवं जीवन्तताबाट आफू निकै प्रभावित भएको उहाँले उल्लेख गर्नुभएको छ । 'मेरा सहकर्मीहरूसँगै मिलेर म सबै नेपाली मित्रहरूसँग द्विपक्षीय आदानप्रदान र व्यावहारिक सहयोगलाई अझ अगाडि बढाउन तथा विकास र समृद्धिका लागि अनन्त मित्रता सहितको चीन-नेपाल रणनीतिक साझेदारीलाई थप प्रवर्द्धन गर्न तत्पर छु । चीन-नेपाल मित्रता अमर रहोस्’, राजदूत चाङले उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update