काठमाण्डू । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैमा अनुरोध गरेको छ । रासस
