काठमाण्डू । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्याँस रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार उक्त परिणाममा प्राकृतिक ग्याँस देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’गर्नुपर्ने विभागले जनाएको छ ।
यसअघि ११२ अर्ब घनमिटरसम्म ग्याँसको भण्डारण हुन सक्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो । विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार धैरै मात्रामा मिथेन ग्याँस कस्तो छ र कुन प्रविधिले निकाल्ने भन्ने निर्क्योल गर्न वेल टेस्ट नै गर्नुपर्नेछ। ग्याँसमा भएका तत्त्वको परीक्षण गरेर मात्र व्यावसायिक उत्पादनको चरणमा जाने उहाँले बताउनुभयो। चिनियाँ टोलीको प्रतिवेदन आएपछि सरकारले ‘वेल टेस्टिङ’ लगायत दोस्रो चरणको काम गरिदिन चिनियाँ सरकारलाई अनुरोध गरेको प्रवक्ता खड्काले बताउनुभयो।
दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २८ वैशाख २०८० देखि करिब डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको थियो । पेट्रोलियम पदार्थको उत्खननका लागि चैत २०७२ मा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा असोज २०७६ बाट झन्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरेको कान्तिपुर अनलाइनमा खबर छ ।
फागुन २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन सम्झौता भएपनि कोरोना महामारी, उपकरण ल्याउन ढिलाइ, सडक समस्या, जग्गा प्राप्तिका प्रक्रियालगायतले ढिला भएको थियो। फेब्रुअरी २०१९ मा ३ वर्षका लागि गरिएको सम्झौताको म्याद सकिएपछि फेरि २०२२ मा आयोजनाले म्याद थपेको थियो ।
विभागका अनुसार २८ वैशाख २०८० देखि पुस २०८१ सम्म ड्रिलिङसहित दोस्रो चरणको अन्वेषण सकेपछि चिनियाँ प्राविधिक टोली नमुना लिएर फर्किएको थियो । पहिलो चरणमा सस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ प्रकारका सर्भेको काम गरिएको थियो भने दोस्रो चरणमा जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) को काम भएको हो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसमा झन्डै ७० जना प्राविधिकले १९ महिना काम गरेका थिए भने करिब एक सय स्थानीय मजदुरले रोजगारी पाएका थिए ।
दैलेखमा ग्याँस उत्पादन भए मुलुक नै आत्मनिर्भर बन्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहले बताउनुभयो। मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल दैलेखमा ग्याँसको व्यावसायिक उत्पादन थालिएपछि नेपालले भारत र चीन दुवैबाट रणनीतिक भूराजनीतिक लाभ लिन सक्ने बताउनुहुन्छ । रसायनशास्त्री विजय शर्माले मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिने बताउनुभयो। विभागका अनुसार अहिलेसम्म दैलेखको शिरस्थान, नाभीस्थान र पादुकाका करिब ३ किलोमिटर आसपासका क्षेत्रमा मात्र ड्रिलिङ गरिएको छ । राससका अनुसार अहिले दुई जना चिनियाँ प्राविधिक जलजले क्षेत्रमै छन् भने सशस्त्र प्रहरीले अन्वेषण स्थलको सुरक्षा गरिरहेको छ ।
