RayNewsDaily
महिनावारी, मर्यादा र वातावरणबारे काठमाण्डूमा खुला संवाद सम्पन्न

रे समाचार/काठमाण्डू । महिनावारीलाई मर्यादा, स्वास्थ्य र वातावरणसँग जोडेर खुला रूपमा संवाद गर्ने उद्देश्यसहित ‘मेरो महिनावारी हरियो–२’ (Green Menstruation) कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । 

2750f6f0-93c9-423a-9157-559f81306fd1-(2)-1770478873.jpg
दिगो महिनावारी स्वास्थ्य अभ्यास र समाधानबारे जनचेतना बढाउने साथै अन्तरसम्बन्धित सामुदायिक संवादका लागि सुरक्षित स्थान सिर्जना गर्ने लक्ष्यसहित आयोजित उक्त कार्यक्रम साथी नेपाल, पिरियडका कुरा पोडकास्ट र अनटोल्ड पिरियड स्टोरिजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

mm-1770478953.jpg
आधा दिनसम्म सञ्चालन भएको सो कार्यक्रम महिलाद्वारा नेतृत्व गरिएको महिलाद्वारा नै सञ्चालन गरिएको पहलअन्तर्गत सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिनावारी स्वास्थ्य अभियन्ता, विद्यार्थी, वातावरणप्रेमी लगायत विभिन्न उमेर समूह र पृष्ठभूमिका २०० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

330f1b64-3ae5-4e8d-8400-552a39c14856-(1)-1770479008.jpg
कार्यक्रमको सुरुवात फिजियोथेरापिस्ट निकिता संग्रौलाले सञ्चालन गर्नुभएको ‘वुम्ब हिलिङ’ सत्रबाट गरिएको थियो । उक्त सत्रमा सहभागीलाई आफ्नै गर्भाशयप्रति हेरचाह, पुनःसम्बन्ध र आत्मचिकित्साका बारेमा अभ्यास गराइएको थियो, जसले मानसिक आघात न्यूनीकरण, सन्तुलन पुनःस्थापना तथा प्रजनन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको थियो ।

aae7a02e-9494-480e-bec9-b6e842a3b8d0-(2)-1770479073.jpg
यसपछि स्त्रीरोग विशेषज्ञ डा. कुन्साङ दोल्मा शेर्पा र पिरियडका कुरा पोडकास्टकी सह-संस्थापक प्रियंका बुढाथोकीबीच ‘हाम्रो गर्भाशय बुझौं’ विषयमा विशेष संवाद सम्पन्न भयो । डा. शेर्पाले गर्भाशयको संरचना, महिनावारी चक्र, स्वास्थ्यसम्बन्धी पक्षबारे जानकारी दिँदै सहभागीका जिज्ञासाको समाधान गर्नुभयो । उहाँले तीव्र र दैनिकीमा असर गर्ने महिनावारी पीडा सामान्य नभएको उल्लेख गर्दै समयमै चिकित्सकीय सहयोग लिनुपर्ने सुझाव दिनुभयो ।

ff27a3a6-8ad9-4732-aa9e-13612c14fa39-(1)-1770479135.jpg
 

कार्यक्रमको अर्को सत्र ‘Periods Are Political' Who Decides Our Bleeding?’ शीर्षकमा अनटोल्ड पिरियड स्टोरिजकी सह–संस्थापक पूजा बिष्ट र दृष्टि नेपालकी संस्थापक पारिन लिम्बूबीच संवाद भयो । उक्त सत्रमा महिनावारीसँग जोडिएका सामाजिक, राजनीतिक, वातावरणीय न्याय, सक्रियता र सामूहिक हेरचाहका विषयमा गहिरो छलफल गरिएको थियो । लिम्बूले यस्ता कार्यक्रमले सामाजिक कलंक चुनौती दिँदै वातावरणमैत्री र पहुँचयोग्य समाधानलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।
 

त्यसैगरी ‘महिनावारी र वातावरण ः हामी के छोड्दैछौं ?’ विषयक अन्तरक्रियात्मक सत्रमा इको साथी नेपालका संस्थापक डा. मनु कार्की र उन्नतीकी पूजा सिंह (अछाम)ले दिगो महिनावारी सामग्री, पहुँच, आर्थिक पक्ष र वातावरणमैत्री विकल्पबारे धारणा राख्नुभयो। सत्रको सहजीकरण पत्रकार तथा पिरियड का कुरा पोडकास्टकी सह–संस्थापक सृष्टि काफ्लेले गर्नुभएको थियो ।

कार्यक्रममा वातावरणमैत्री महिनावारी सामग्रीका स्टल, जुम्ला र अछामका कथासहितको फोटो वाल, ओपन माइकअन्तर्गत कविता, संगीत, कथा वाचन, लाइभ पेन्टिङ तथा प्रत्यक्ष पोडकास्ट रेकर्डिङ समेत समावेश गरिएको थियो । साथै, प्लास्टिक फोहोर न्यूनीकरणका लागि ‘Bring Your Own Mug' अभियानसमेत अपनाइएको थियो ।

आयोजकका अनुसार ‘मेरो महिनावारी हरियो–२’ ले महिनावारीबारे खुला, सुरक्षित र सम्मानजनक संवादको वातावरण सिर्जना गर्नुका साथै वातावरणीय जिम्मेवारीलाई पनि प्राथमिकतामा राखेको छ । भविष्यमा काठमाण्डू उपत्यका बाहिर समेत यस्ता कार्यक्रम विस्तार गर्दै दिगो महिनावारी स्वास्थ्यलाई सबैका लागि अधिकारका रूपमा सुनिश्चित गर्ने योजना रहेको आयोजकले बताएका छन् ।


 

 

 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update