RayNewsDaily
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित   

बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।    
    
हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।    
    
यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।    
    
हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् । रासस   

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update