रे समाचार/काठमाण्डू । सस्टेनेबल कम्युनिटी परियोजनालाई सहयोग पुर्याउने उद्देश्यसहित रोर्टयाक्ट क्लब अफ कान्तिपुरको आयोजनामा रोटा रन २०२६ मिनि म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ ।

क्लबले यही माघ १० गते शनिबार रोटा रन २०२६ मिनी म्याराथोनको आयोजना गरेको थियो । रोटा रन २०२६ मा ५ सय जना भन्दा धेरै धावकहरूको सहभागिता रहेको थियो । मिनी म्याराथोनको सुरुवात बिहान ८ बजे ग्लोबल कलेज अफ म्यानेजमेन्ट पुरानो बानेश्वरबाट भएको थियो भने ११ः३० बजे पुनः सोही स्थानमा समापन गरिएको थियो । कुल ९.७ किलोमिटर दूरीको उक्त म्याराथन मार्गमा धावकहरूले मैतिदेवी, पुतलीसडक, सिंहदरबार चोक, कान्तिपथ, रानीपोखरी, जमल, कमलादी, सिटी सेन्टर, ज्ञानेश्वर र गौशाला हुँदै पुनः ग्लोबल कलेज अफ म्यानेजमेन्टसम्मको दूरी पार गरेका थिए ।
म्याराथनको मुख्य उद्देश्य दीगो समुदाय अन्तर्गत विद्यार्थी र युवा लक्षित व्यावसायिक विकास कार्यक्रम र सीप निर्माण कार्यशालाहरू सञ्चालन गर्न कोष संकलन गर्नु रहेको आयोजक रोर्टयाक्ट क्लब अफ कान्तिपुरले जनाएको छ । आयोजकका अनुसार संकलित रकम युवाहरूको क्षमता अभिवृद्धि, सीप विकास र व्यावसायिक तयारीमा सहयोग पुर्याउन प्रयोग गरिनेछ ।
प्रतियोगितात्मक रूपमा सम्पन्न रोटा रन २०२६ मा पुरुषतर्फ नागेश्वर अहिर प्रथम, सञ्जीव नेपाली द्वितीय र धनु मानन्धर तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो भने महिलातर्फ सुमित्रा कुमारी चौधरी प्रथम, गीता महर्जन द्वितीय र सम्झना राई तृतीय स्थानमा रहन सफल हुनुभयो । प्रतियोगितामा पुरुष र महिला दुवै समूहका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रथम हुनेलाई ७ हजार ५ सय रुपैयाँ, द्वितीय हुनेलाई ५ हजार रुपैयाँ र तृतीय हुनेलाई दुई हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो साथै, पुरुष र महिला तर्फका सबै ६ जना विजेतालाई ७ हजार बराबरको गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।
रोर्टयाक्ट क्लब अफ कान्तिपुरले यस्ता कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व वहन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने र समुदायमुखी विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
