RayNewsDaily
परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली संघको भेट        

काठमाडौँ । बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट गरेको छ ।     
     
मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।     
     
एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई सङ्घको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।     
     
भेटका अवसरमा उपाध्यक्ष डा. हेमराज शर्माले सङ्घको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्न लागेको जानकारी गराउनुभयो ।     
     
परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र सङ्घले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र सङ्घले सहकार्य गर्न सकिने बताइएको छ ।     
     
भेटमा कोषाध्यक्ष सुजन थापा, सङ्घका सिइओ राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update