ब्रसेल्स, बेल्जियम । ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
भोन देर लेयनले अनलाइन पोष्टमा लेख्नुभयो,“इरानमा हताहतको सङ्ख्या निकै दुःखद छ । म अत्यधिक बल प्रयोग र स्वतन्त्रताको निरन्तर सीमितकरणको स्पष्ट रूपमा निन्दा गर्दछु ।”
उहाँले थप्नुभयो,“दमनमा संलग्न व्यक्तिहरूमा थप प्रतिबन्ध प्रस्ताव गर्न हामी छिटो पहल गर्नेछौं ।”
ईयूले इरानी जनताद्वारा गरिएका राष्ट्रिय प्रदर्शनलाई सम्मान र समर्थन जनाएको छ । यी प्रदर्शनहरू १९७९ को इस्लामिक क्रान्ति पछिको धर्मगुरु नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक मानिन्छ ।
ईयूले पहिल्यै पनि विगतका प्रदर्शनमाथि दमन र तेहरानको रूसको युक्रेन युद्धमा समर्थनको कारण सयौं इरानी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ ।
इरानको रिभोलुसनरी गाड्र्सलाई ‘आतङ्कवादी’ सङ्गठनको रूपमा घोषणा गर्न केही प्रस्ताव उठेका छन्, तर ब्रसेल्सले अहिलेसम्म कानुनी आधार नभएको स्पष्ट पारेको छ ।
भोन देर लेयनले भन्नुभयो,“रिभोलुसनरी गाड्र्सलाई मानवअधिकार उल्लंघनको कारण ईयूले पहिले नै सम्पत्ति रोकथाम र भिसा प्रतिबन्धको सूचीमा राखिसकेको छ ।” एएफपी
