RayNewsDaily
चितवनमा जलपक्षी गणना    

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते जलपक्षी गणना गरिने भएको हो ।     
     
नेपालमा हरेक वर्ष जनवरी ३ देखि १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । चितवन र नवलपरासीको त्रिवेणीसम्म एकै पटक चरा गणना गर्न लागिएको हो । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि जलपक्षी गणना सुरु गरिने छ । पुस २४ गते नदीहरुमा तथा पुस २५ गते तालतलैयामा जलपक्षी गणना गरिने छ । गणनाका लागि ७० चराविज्ञ सहभागी हुने उहाँले जानकारी दिनुभयो । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिने छ भने नारायणी नदीमा पनि चरा गणना गरिने छ ।     
यस्तै माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन क्षेत्र तथा बूढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म जलपक्षी गणना गरिने छ ।     
     
‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार देशैभर जलपक्षी गणना गरिँदै छ । राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत जलपक्षी गणना गरिने उहाँले जानकारी दिनुभयो ।     
     
‘बर्ड एजुकेसन सोसाइटी, नेपाल’ पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा जलपक्षी गणना गर्न लागिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका तथा चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ देखि चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै छ ।     
     
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसिया लगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने गरेका उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताउनुभयो । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ । रासस

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update