RayNewsDaily
प्रतिनिधिसभा निर्वाचनः झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस   

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।    
    
 पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । झापा-५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उहाँ यही क्षेत्रबाट वि.सं. २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित हुनुभएको थियो । तर, वि.सं. २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित हुनुभएको थियो । वि.सं. २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उहाँ यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।    
    
 यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हिरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।    
    
झापामा पाँचवटा निर्वाचन क्षेत्र छन् । झापा निर्वाचन क्षेत्र नं १, २ र ३ को उम्मेदवारको नाम आइतबारसम्ममा सिफारिस भइसक्ने उहाँले बताउनुभयो । हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले ‘सर्कुलर’ गरेको जनाइएको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update