काठमाडौं । काठमाडौँको टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । कार्यक्रमा बोल्दै उहाँले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०८२ बमोजिम डेक्स स्थापना गरेको जानकारी दिनुभयो ।
नगरपालिकाले श्रम डेक्सबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरुका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुभयो ।
टोखाले नगरपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आउनसमेत अनुरोध गरेको छ । टोखाले श्रम डेक्स स्थापना गरेर श्रमिकको हकहितको लागि गरेको कार्य प्रशंसनीय रहेको श्रमिक सङ्घ संस्थाहरुले बताएका छन् । रासस
