अमरगढी (डडेल्धुरा) । ‘परशुराम आइकन अवार्ड–२०८२’ उपसचिवद्वव वीरबहादुर धामी र दीपक नेगीलाई प्रदान गरिएको छ ।
यहाँको परशुराम नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा आज परशुरामधाममा आयोजित कार्यक्रममा उहाँहरूलाई निजामती सेवाको माथिल्लो तहमा नाम निकालेर युवाहरूको प्रेरणा बनेको भन्दै सम्मान गरिएको हो । परशुराम नगरवासी दुवै जनाले यसै वर्ष उपसचिवमा नाम निकाल्नुभएको हो ।
आजै बसेको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार विभिन्न छ विधामा उत्कृष्ट व्यक्तित्व र कम्पनीलाई पनि सम्मान गरिएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा रु ५० हजार राशिको ‘परशुराम अचिभर्स अवार्ड’ राजेश जोशी र आकृति पाण्डेयलाई प्रदान गरिएको छ । यसै वर्षदेखि सुरु भएको यो सम्मान यहाँका उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्न थालिएको हो ।
यसैगरी जनही रु २५ हजार राशिको ‘उत्कृष्ट विद्यार्थी अवार्ड’ कक्षा ८ का छात्रमोहन थापामगर, आयुस भट्ट र छात्रातर्फ प्रतिभा भट्ट, कक्षा १० का छात्रतर्फ किसोर गिरि र छात्रातर्फ रितिका पनेरु तथा कक्षा १२ का छात्रतर्फ दीपेन्द्र बोहरा र छात्रातर्फ खगन्ति बोहरालाई प्रदान गरिएको छ ।
यस्तै, जनही रु ५१ हजार राशिको ‘उत्कृष्ट खेलाडी अवार्ड’ बक्सिङका सुरेश चुनारा र योगातर्फ पुष्पा नाथ, जनही रु ५१ हजार राशिकै ‘उत्कृष्ट कृषक अवार्ड’ नरेन्द्र नेगी (कृषि) र मिलन घिमिरे (पशुपालन) र ‘उत्कृष्ट निर्माण व्यवसायी सम्मान’ सिगास निर्माण सेवालाई प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।
तत्कालीन जोगबुढा र शीर्ष गाविसलाई एकीकृत गरी स्थापना भएको दिनलाई यहाँ दिवसका रूपमा मनाउने गरिन्छ । त्यस अवसरमा आज परशुरामधाममा बृहत् सरसफाइ तथा रङरोगन कार्यक्रम गरिएको थियो । रासस
