RayNewsDaily
मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण        

मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ ।     
     
एक्यापले संरक्षित हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत सम्बन्धित घरधुरीको बैंक खातामा भुक्तानी गराएको जनाएको छ । बिहीबार जोमसोमस्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षति राहत सम्बन्धित पशुपालक घरधुरीलाई वितरण गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।     
     
आव २०८०/८१ र आव २०८१/८२ मा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका गरी कूल २६ घरधुरीको १११ पशुधन क्षति भएवापतको रु १३ लाख १८ हजार राहतस्वरुप हस्तान्तरण भएको जनाइएको छ ।     
     
कार्यालय प्रमुख राजेश गुप्तका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वन्यजन्तु क्षति राहत रकम पाउन नसकेकालाई एक्यापको वन्यजन्तु क्षति राहतको आपत्कालीन कोषबाट सम्बोधन हुने गरी राहत उपलब्ध गराइएको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका पाँच घुरधुरीका २४ पशुधनको रु दुई लाख ३६ हजार, घरपझोङ गाउँपालिकाअन्तर्गतका ११ घरधुरीका ६९ पशुधनको क्षति राहत रु सात लाख २५ हजार र थासाङ गाउँपालिकाअन्तर्गतका १० घरधुरीका लागि ३० पशुधन क्षति भएवापतको तीन लाख ५७ हजार राहतस्वरुप हस्तान्तरण भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।     
     
पछिल्लो दुई आर्थिक वर्षमा बारागुङ मुक्तिक्षेत्रमा हिउँ चितुवाको आक्रमणमा परी याक छ र च्यांग्रा १६ क्षति भएको थियो । घरपझोङमा च्याङ्ग्रा ५८, याक आठ र घोडा तीन क्षति भएको थियो । यसैगरी थासाङ गाउँपालिकामा याक १८ र दुई बाख्रा वन्यजन्तुको आक्रमण परी क्षति भएको थियो ।     
     
मुस्ताङमा हिउँचितुवाको आक्रमणमा परी पशुधनको क्षति हुने तथ्याङ्क बढ्दो रहेको पाइएको छ । एक्यापका अनुसार आव २०७६÷७७ मा १६३ पशुधन क्षति भएको थियो । यसैगरी आव २०७७/७८ मा ५४, आव २०७८/७९ मा १३, आव २०७९/८० मा ३८ पशुधन क्षति भएको थियो ।     
     
यसैगरी, पछिल्लो आव २०८०/८१ मा ५६ र आव २०८१/८२ मा ८८ पशुधनमा क्षति पुगेको थियो । यहाँ आयोजित राहत हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले वन्यजन्तु संरक्षणका लागि पुरस्कारको व्यवस्था र वन्यजन्तु संरक्षणका लागि सुक्ष्म अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष लालचनले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ र यहाँको संरक्षित वन्यजन्तुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।     
     
एक्याप प्रमुख गुप्तले एक्याप कार्यालयबाट वन्यजन्तु पीडितलाई जतिसक्दो छिटोछरितो राहत उपलब्ध गराउने गरी आन्तरिक राहत कोष खडा गरिएको बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध हुने वन्यजन्तु क्षति राहत उपलब्ध हुन ढिलाइ हुने भएकाले एक्यापले त्यसैमा मिलाउने गरी एक्यापकै बजेट दिएर पीडित पशुपालकको समस्या सामाधान गर्ने प्रयास भएको बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update