काठमाडौं । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।
तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । त्यसैगरी धम्की/दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ ।
प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् ।
यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो । रासस
